नवलपुरको दुम्किबास क्षेत्रमा बाघको त्रास
नवलपुर | भदौ २९, २०७९
सांकेतिक तस्बिर
नवलपुर: नवलपुरको विनयी त्रिवेणी गाउँपालिकास्थित दुम्किबास क्षेत्रमा बाघले मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।
चार दिनको अन्तरालमा दुम्किबासबाट सर्दी जानेबाटोमा दुईपटक बाघले मानिसलाई आक्रमण गरेपछि यस क्षेत्रका स्थानीय त्रसित बनेका हुन् । गत शुक्रबारमात्रै विनयी त्रिवेणी गाउँपालिका–३ बस्ने २१ वर्षीय सुवास विकलाई बाघले आक्रमण गरेको थियो ।
विनयी त्रिवेणी– १ होङ्सी जाने गेट नजिकै मोटरसाइकलमा सवार रहँदा बाघले उहाँमाथि आक्रमण गरेको थियो । बाघको आक्रमणबाट विकको खुट्टामा चोट लागेको छ । कृष्ण विकले चलाएको मोटरसाइकलमा सवार सुवासलाई बाघले आक्रमण गरी तान्दै गर्दा सँगै रहेको ट्रक चालकले ट्रकले लखेटेपछि उहाँको ज्यान जोगिएको थियो । मङ्गलबार सोही क्षेत्रमा बाघले मानिसलाई आक्रमणको प्रयास गरेको छ ।
मोटरसाइकलमा सवार दुई जनालाई बाघले आक्रमणको प्रयास गरेको विनयी त्रिवेणी–३ सर्दीका स्थानीय यादव पौडेलले बताउनुभयो । दुम्किबासबाट सर्दी मोटरसाइकलमा जाँदै गर्दा सर्दी निवासी दुर्गाप्रसाद पौडेल र रवि जिसीलाई बाघले आक्रमणको प्रयास गरेको हो । दुवै जनाले भागेर ज्यान जोगाउन सफल भएको पौडेलले जानकारी दिनुभयो ।
दुम्किबासबाट होङ्सी जाने गेट हुँदै सर्दी जाने बाटो भएर आवतजावत गर्दा बाघको आक्रमण जोखिम बढेको छ । गत वर्ष दुम्किबास क्षेत्रमा बाघको आक्रमणबाट तीन जनाले ज्यान गुमाएका थिए । गत वर्ष बाघले लगातार मानिसलाई आक्रमण गरेपछि नरभक्षी बाघ नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहित सुरक्षाकर्मी परिचालन गरिएको थियो । तर नरभक्षी बाघ नियन्त्रणमा लिने प्रयास असफल बनेको थियो ।
अहिले फेरि लगातार सोही क्षेत्रमा बाघले आक्रमण गर्न थालेपछि स्थानीय चिन्तित बनेका छन् । बाघ सोही क्षेत्रमा रहेको र कुनै पनि समय मानिसलाई आक्रमण गरी मानवीय क्षति पु¥याउन सक्ने भन्दै समयमै सम्बन्धित निकायले यसको नियन्त्रणका लागि पहल गर्नुपर्ने स्थानीयवासीको माग छ ।
“लगातार बाघले आक्रमण गर्न थालेको छ, कुनै पनि समय मानवीय क्षति हुनसक्छ, सम्बन्धित निकायले समयमै क्षति हुन नदिन सचेत हुनुपर्छ”, स्थानीय यादव पौडेलले भन्नुभयो, “यो बाटो भएर हिँडडुल गर्दा समेत सबैले सावधानी अपनाउन आवश्यक छ ।”
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

